थारु वस्तीमा माघीको रौनक सुरु

इन्द्र कार्की/

महेन्द्रनगर,पौष,२८-

थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ ।

सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने माघी पर्व थारु समुदायको मुख्य चाड हो ।

तीन दिन सम्म मनाइने माघी पर्वमा मिठो खाने,राम्र्रो लगाउने र नाचगान गर्ने चलन रहेको छ । थारु जातीहरुको मौलिक पकवान ढिक्री, जाँड,मासु लगायतका परिकार खाने र खुवाउने चलन यस पर्वमा रहेको छ ।

माघीकै अवसर पारी विभिन्न स्थानमा माघी विषेश कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गर्ने तयारी यस समुदायका अगुवाहरुले गरेका छन् । थारु समुदायले माघीकै अवसरमा वितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमा वनाउने गर्छन ।