निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

फाईल तस्विर !!

काठमाडौं,माघ,२८-आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ । अनौपचारिक हवलाको आधारमा गरिएको आशंकालाई राजनीतिक अतिरञ्जना मात्रै हुनसक्ने टिप्पणी पनि गरिएको छ ।

आगामी निर्वाचन केन्द्रीत आयोगको तयारी र सरकारको तयारी बारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओली आउने सूचना पाएका निर्वाचन आयोगका पदाधिकारीले त्यहि अनुसार तयारी गरेका थिए । प्रधानमन्त्रीसँगको छलफल सुरु भएलगत्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले हालसम्म गरेका कामकारबाही र सरकारले गर्नुपर्ने सहयोग बारे ब्रिफिङ गर्नुभयो ।

निर्वाचनको तयारीबारे ब्रिफिङ सकिएलगत्तै दल दर्ताको प्रसङ्ग निस्कँदा प्रमुख आयुक्त थपलियाले नेकपाको आधिकारिकताका लागि माघ २० गते दाहाल–नेपाल समूहले पत्र पेश गरेको जानकारी गराउनुभयो । लगत्तै, प्रधानमन्त्री ओलीले आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन, नियम र विगतका नजिर बारे ध्यानाकर्षण गराएको छलफलमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको थियो ।

तर, छलफल लगत्तै निर्वाचन आयोगको अनौपचारिक स्रोतको हवला दिँदै प्रधानमन्त्रीले आयोगलाई नेकपाको आधिकारिकता विवादमा प्रवेश नगर्न निर्देशन दिएको चर्चा व्यापक छ । अनौपचारिक स्रोतको हवलाले प्रधानमन्त्री ओलीप्रति प्रश्न उठाइएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भने अनौपचारिक स्रोतको हवला दिएर विषयलाई अतिरञ्जित बनाउन नहुने धारणा राख्नुभयो ।

आफूविरुद्ध आन्दोलनरत नेकपाकै अर्को समूहले आधिकारिकताका लागि निर्वाचन आयोगलाई अनावश्यक दबाव दिएको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओली आफैँले आयोगलाई प्रभावित पार्न खोज्नु उचित नभएको कतिपयको धारणा छ । तर, पूर्वप्रमुख आयुक्त श्रेष्ठले संवैधानिक निकायमाथि कुनै पनि पक्षबाट दबाव आउन नहुने धारणा राख्नुहुन्छ ।

पुष ५ गते प्रतिनिधिसभा विघटन लगत्तै राजनीतिक रूपले विभाजित नेकपाको दाहाल–नेपाल समूहका शीर्ष नेताहरू पटक–पटक निर्वाचन आयोग पुगे पनि नेकपाकै अर्को समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आयोग पुग्नुभएको थियो । अक्कल कुँवर ले यो समाचार ईमेज खबरमा लेख्नु भएको छ ।