माघे संक्रान्ति पर्व नजिकिँदै, मगर समुदायमा तारो हान्ने चलन लोभ हुदैँ

गाँउघरमा माघे संक्रान्तिको रौनकता बढ्दै

फाईल तस्विर !

काठमाण्डौं,पौष,२९-माघे संक्रान्ति पर्व नजिकिँदै छ।नेपालीहरुले परम्परागत रुपमा मनाउदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ ।

विशेषगरी मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन्।ठाँउ अनुसार पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ ।‘यो चाडको बेला छोरी चेलीहरूलाई टिका लगाई दक्षिणा दिइन्छ।‘यो बेला सबै आफन्तहरू भेटघाट गरी हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु नाच नाच्ने गर्दछन् ।दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।

तर पछिल्लो समय मगर समुदायमा माघी पर्वमा गाँउभरिका पुरुषहरु मिलेर हान्ने तारो लोभ हुदै गएको पाईन्छ। पुर्खौं देखि चलि आएको यो प्रचलन पछिल्लो पुस्तामा भने सर्न सकेन, तारो हान्नुको साटो अहिलेका पुस्ताले मोबाईल गेम पब जी र थ्रीफाएर जस्ता खेलमा  दिन बिताउने गरेको देखिन्छ। यसले गर्दा हाम्रो पुराना चलि आएको संस्कृती अझै लोभहुदै जानेमा अग्रजहरुले चिन्ता गर्ने गरेको पाईन्छ। यहि तारो हान्ने प्रचलन लाई हराउन नदिनको लागि कहि कतै तारो हानेर मनाएता पनि औपचारिक कार्यक्रम भने गरेर मनाउन नसकेको पाईन्छ !! 

त्यसैगरी माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।थारु समाजमा यो पर्व महिनाभरी रमझमका साथ मनाउने प्रचलन रहि आएको छ । 

यसैगरी तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन्।तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ ।

माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दान गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।

हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ।तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ ।

माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।