निर्वाचन आयोगले आज सर्वदलीय बैठक गर्दै

राष्ट्रिय सभाको निर्वाचन, कोरोना महामारी तथा स्थानीय चुनावबारे छलफल हुने

काठमाडौं,पौष,३०-निर्वाचन आयोगले आज (शुक्रबार)सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो ।

बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ ।

यसैगरी, स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी पनि निर्वाचन आयोगले गरेको छ ।

आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिने समेत बताउँदै आएको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले बैशाख १४ र २२ को मिति प्रस्ताव गरे पनि सरकारले निर्णय गरेको छैन ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुँदैछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।