जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिए

फाईल तस्विरमा जापानका प्रधानमन्त्री: सिन्जो आबे

टोकियो,जापान,भदौ,१२-जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा समस्या आएपछि शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नु भएको छ ।

जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बन्नु भएका ६५ वर्षीय प्रधानमन्त्री सिन्जो आबे पछिल्लो समय स्वास्थ्य समस्याबाट ग्रसित हुनुभएको थियो।स्वास्थ्य समस्याका कारण उहाॅंले पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्री शिन्जो आबेले सम्बोधनका क्रममा भन्नुभयो ‘मेरो कार्यकालको एक वर्ष अवधि हुँदा हुँदै पनि मैले राजीनामा दिने निर्णय गरेको छु,’ उहाॅंले जिम्मेवारी पूरा गर्न नसकेकोमा जापानी नागरिक संग माफी समेत माग्नु भएको थियो ।

प्रधानमन्त्री आबे पछिल्लो समय ‘कोलाइटिस’को स्वास्थ्य समस्यासँग जुध्दै आउनु भएको थियो । २००७ सालमा पनि आबेले यसै गरी स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिनु भएको थियो । त्यसपछि उहाॅं २०१२ सालमा फेरि प्रधानमन्री पदमा निर्वाचिन हुनुभएको थियो ।

कोरोना महामारीसँग जुध्नुपर्ने कठिन समयमा स्वास्थ्यको समस्या देखाउदा देखाउदै पनि  प्रधानमन्त्री आबेले दिएको राजीनामालाई चासोका साथ हेरिएको छ । यद्यपि उहाॅं जापानको अहिले सम्मकै सफल प्रधानमन्त्रीको रुपमा चिनिदै आउनु भएको छ ।