नेकपा सचिवालय बैठक १८ गते सम्मका लागि स्थगित

फाईल तस्विर : सूर्य थापाको फेसबुकबाट

काठमाडौं,भदौं,१२-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि (शनिबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको जनाइएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

शनिबारको बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

पार्टीमा दाहाल-नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।उनीहरुले ओलीलाई थप बलियो बनाउने गरी प्रतिवेदन दिएका छन् ।