प्रहरीलाई फोन गरी मनोज पुन समूहबाट गौचनको हत्या गरेको दाबी

हत्यामा संलग्न भएको आशंकामा तीन जना पेस्तोल सहित पक्राउ

काठमाण्डौ,असोज,२३-

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राजधानी बाट तीन जनालाई प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताउनुभयो ।

पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान पेस्तोल र केही राउन्ड गोली बरामद गरेको छ ।

उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिनुभयो । गौचन माथि गोली प्रहार गर्नेको थप खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए । अहिले समग्र राजधानीकै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

काठमाण्डौंका सबै नाका शिल गरि दोषीको खोजी भइरहेको छ ।दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ जादै गरेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई अज्ञात समूहले गोली प्रहार गरेका थिए।

गौचन ड्राइभर नजिकै अगाडि सिटमा थिए । प्रत्यक्षदर्शीका अनुसार नयाँ बानेश्वरको खरिबोट अगाडी गौचन चढेको गाडी आइपुग्दा एक्कासी दुई जना आएर ड्राइभर बसेको ठाउँमा पहिले इँटा हानिएको र त्यसपछि गोली चलाएका थिए ।

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो भने अर्को पेटमा लागेको थियो । गौचनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

यसैबीच : गृहमन्त्री जनार्दन शर्माले गौचनको हत्याराको विषयमा प्रारम्भिक जानकारी प्राप्त भइसकेको दाबी गर्नु भएको छ । शर्माले घटनाको छानबिन गरी जतिसक्दो चाँडो हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो । दिनदहाडै बाटोमा छेकेर गोली हानिएकोले नै घट्ना योजनाबद्ध तवरबाट भएको उहाले बताउनु भयो ।

मृतकका आफन्त र व्यवसायीहरुले हत्यारालाई तत्काल पक्राउ गरि कावार्ही गर्नु पर्ने भन्दै नयाबानेश्वर क्षेत्रमा नारावाजी गरेका छन । भने निर्माण व्यवसायीहरूले दोषीलाई कार्वाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन । व्यावसायीले भोलिदेखि देश ब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

यता, मनोज समुहले अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरेर निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको हत्या आफूहरुले गरेको भन्दै जिम्मा लिएको छ । गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज समूहले नै गौचन हत्याको जिम्मा लिएको हो । 

सोही समुहका सदस्यले काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समुहले गोली हानेको बताएका छन् । प्रहरीका अनुसार ‘अननोन’ नम्बरबाट फोन गरी ‘केही रकमको बिवाद थियो । दिन लोभ गरेका कारण हामीले हानेको हो’ भन्दै फोन राखेका थिए ।नेपाललाणीवाट साभार