नेपाल सेमिफाइनलमा प्रवेश , भारत भने बाहिरियो

काठमाडौं, कात्तिक २८ –

नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।समूहको अन्तिम खेलमा आज मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

आद भएको समूहको अर्को खेलमा बंगलादेशले भारतमाथि पनि ८ विकेटकै जित हासिल गरेसँगै बंगलादेश समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा साविक विजेता भारतमाथि पहिलोपटक जित हासिल गरेको थियो ।

आज समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षाले गर्दा २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चु्नौती ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।अनिल साहले १५ बलमा अविजित रहँदै २६ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३ बलमा दुई छक्काको मद्दतले १२ रन बनाए ।

यसअघि, वर्षाले झन्डै ५ घन्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४५ रन बनाउन सक्यो ।पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको मलेसियाले थप १२ रन जोड्दा सबै विकेट गुमाएको हो ।

शानदार बलिङ गर्नेक्रममा सन्दीप लामिछानेले ८ रन खर्चेर ५ विकेट लिए । यसैगरी, कप्तान दीपेन्द्रले १ रन खर्चेर २ तथा शहाब आलमले ३ रन खर्चेर २ विकेट लिए । अनिल साहले १ रन खर्चेर १ विकेट लिए ।

यता, भारतले वर्षाले ३२ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।जवाफमा बंगलादेशले पिनक घोषको अविजित ८१ रनको मद्दतले २८ ओभरमै २ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

यो हारले २ अंकमात्र बटुलेको साविक विजेता भारत पहिलोपटक समूह चरणबाट बाहिरिएको हो । मलेसिया अंकविहीन हुँदै बाहिरिएको छ ।अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।पहिलो सेमिफाइनलमा बिहीबार बंगलादेश र अर्को समूहको उपविजेता पाकिस्तान भिड्नेछन् । श्रीलंका र युएई समूह चरणबाटै बाहिरिएका छन् ।