काठमाडौं,बैशाख,१५-निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।
यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो भने उजुरी जाँचबुझका लागि बुधबार एक दिन छुट्याइएको थियो ।
बिहीबार साँझ नामावली प्रकाशन गरेपछि उम्मेदवारी फिर्ताका लागि शुक्रबार एक दिन दिइने छ । शनिबार आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवार रहेका छन् भने सवैभन्दा कम उम्मेदवार सुदूरपश्चिममा रहेका छन् । यस्तै पार्टीगत रुपमा नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।