थप २,३६४ जनामा संक्रमण,कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

काठमाडौं,कात्तिक,१३-नेपालमा बिहीवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९०४ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ६८९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ९५२ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख १९ हजार ६४ ओटा पीसीआर परीक्षण भइसकेको छ । विगत २४ घण्टामा  ९ हजार ७६९ ओटा पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार ३३८ जना, ललितपुर जिल्लामा १८० जना र भक्तपुर जिल्लामा ९७ जना कोरोना संक्रमित भेटिएका हुन् ।