केन्यालाई हराउदै नेपालले जित्यो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज

नेपाललाई केन्याविरुद्धको टी-ट्वान्टी सिरिजकाठमाडौं,भदौ,१४-नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।

नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।

यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।