ओखलढुंगाको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

सिर्जना बर्देवा/

ओखलढुंगा, मंसिर,२३-

ओखलढुंगामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै सिट वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनका यज्ञराज सुनुवार विजयी हुनुभएको हो ।

प्रदेशसभाको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी हुनुभयो । गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संघीय समाजवादी फोरमका नरेश नेम्वाङले २ सय ९९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ ।

प्रदेशसभा ख मा पनि वाम गठबन्धनका मोहन खड्का विजयी हुनुभएको छ । उहाँले १५ हजार ४ सय ४५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रदिप सुनुवारले खड्काभन्दा १ हजार ७ सय ७४ मत कम ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा काँग्रेसका विद्रोही उम्मेदवार रहेका ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याउनुभएको छ ।