अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

काठमाडौं, फागुन १७-  विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ ।त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा अवरोध गरेपछि ६० प्रतिशत क्याम्पसमा चुनाव हुन नसक्ने भएको हो ।विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सार्दा पनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।साभार ईमेजबारबाट