प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं,चैत्र,६-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ।

दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो।प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो।संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा दाहाललाई बहुमत प्राप्त भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।

नेकपा एमाले सहितको गठबन्धनबाट गत पुस १० मा प्रधानमन्त्री बन्नु भएका दाहालले यसअघि पुस २६ मा संसदबाट पहिलो पटक विश्वासको मत लिनु भएको थियो।गत फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको समीकरण परिवर्तन गरेर प्रधानमन्त्री दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने बताएपछि फागुन १५ मा एमालेले दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो।सोही कारण दाहालले संसदबाट फेरि विश्वासको मत लिनुभएको हो।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री लाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो।सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि फेरि संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गर्नु भएको थियो ।

एमालेसँगको समीकरण भत्किएर अहिले कांग्रेससँग नयाँ समीकरण बनेको हो।दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनु भएको हो।त्यतिबेला दाहाललाई विश्वासको मत दिएको एमालेले यसपटक भने दिएन ।

प्रधानमन्त्री दाहाललाई कांग्रेस,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा लगायतले यसपटक विश्वासको मत दिएका हुन्। प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद रहेकामा सोमबार २६२ जना सांसद उपस्थित रहेका थिए।