विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण

काठमाडौं,जेठ,११-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । 
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीको निधन भएको छ । 

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् ।

४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।

नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित

संयोजक डा.सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्य मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए ।

अत्याधिक कोरोना प्रभावित देशहरु मध्य वेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५,  युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टे«लिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

४० हजारभन्दा बढी व्यक्तिलाई राहत वितरण

चीनवाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरी विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पीडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार कोरोना पिडितको लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजार १ हजारभन्दा बढी स्वयमसेवक खटाइएको छ । संघले शनिवार साँझ सम्म ४० हजारभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरिएको छ भने ६२ हजार भन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् ।

संघले स्थापना गरेको कोरोना पिडित राहत कोषमा बिभिन्न राष्ट्रिय समिति सहित ८ करोड रुपैयाँ संकलन गरेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । संघले यसअघि १० देशका नेपालीको राहतको लागि आर्थिक सहयोग गरेको एनआएनएका प्रेस संयोजक चिरन शर्माले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।ईमेजबाट