१४ जिल्लाका सीडीओलाई बिहानै गृहमन्त्री खाँणको फोन

‘अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन’

काठमाण्डौं,माघ,२०-गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गर्नु भएको छ।गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गर्नु भएको हो ।

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोनबाट जानकारी लिनु भएको हो।

त्यसैगरी चक्रपाणि पाण्डे (कपिलवस्तु(, किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके(, सन्तबहादुर सुनार (बर्दिया), हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) सँग टेलिफोन वार्ता गर्नुभयो। त्यसैगरी गृहमन्त्री खाँणले नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गर्नुभयो।

बिहान चिया खाने समयमा गृहमन्त्री खाँणले प्रजिअहरूसँग जिल्लामा कोरोना  संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोरोना संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा-सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ? पठाउनु पर्छ कि पर्दैन? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर जानकारी लिनुभएको हो।

नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताउनुभयो।‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो’, सहायक प्रजिअ बरालले भन्नुभयो,  ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ।’ 

कञ्चनपुरका प्रजिअ पाण्डेले गहृमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताउनुभयो।

‘सामान्यतया आन्तरिक विषयवस्तुमा महत्त्वपूण घटना नभई अन्य गहृमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन। अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जाँगर र सर्तक रहन सिकाएको छ।’ पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैंले टेलिफोन गर्दा काम गर्ने हौसला बढेको बताउनुभयो।नेपालखबरबाट