विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २६-

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत भएको बताउनुभयो ।शिक्षामा पछाडी परेको समुदायलाई शिक्षाको पहुँचमा ल्याउनसमेत उहाँले निर्देशन दिनुभयो ।विश्वविद्यालयलाई जुनसुकै सहयोग गर्न पनि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई भाषा, साहित्य र साँस्कृतिक थलोको रुपमा विकास गर्न पनि निर्देशन दिनुभयो ।

यसैविच : कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आगामी वर्षदेखि विश्वविद्यालयलाई कृषि अध्ययन अध्यापन केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठलगायतले सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै शैक्षिक केन्द्रको रुपमा विकास गर्न सरकारसँग आग्रह गर्नुभयो ।