‘उच्च सतर्कता अपनाउनुपर्छ’

काठमाडौं,माघ,१७-चीनको हपेई प्रान्तको वुहान सहरबाट फैलिएको ‘कोरोनाभाइरस’को संक्रमण विश्वव्यापी भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

चीनभन्दा बाहिर पनि यसले महामारीको रुप लिनसक्ने भन्दै ‘डब्ल्युएचओ’ले सबै देशहरुलाई सचेत हुन आग्रहसमेत गरेको छ ।चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २१३ जना पुगिसकेको छ भने ६ हजारजनामा संक्रमण भइसकेको छ ।

चीनभन्दा बाहिर कम्तीमा १७ ओटा देशमा कोरोनाभाइरस फैलिइसकेको पुष्टि भएपछि डब्ल्युएचओले तीनपटकसम्म बैठक गरेर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो ।

डब्ल्युएचओले विश्वभरका देशहरुलाई सचेत बन्न पूर्वतयारीमा जुट्न आह्वान गरेको छ ।यो रोगको उपचार प्रणालीमा देशपिच्छे फरक नहोस् भन्दै संगठनले आपत्काल घोषणा गरेको जनाइएको छ ।

अतिविकसित र गरिब राष्ट्रहरुमा यो समस्या विस्तार भयो भने त्यसले विकराल रुप लिने चेतावनी डब्ल्युएचओले दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले बताउनुभयो ।

रोग नियन्त्रण महाशाखाका प्रमुख डा. लाल नेपाल पनि विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताउँछन् ।नेपालमा पनि एकजनामा कोरोनाभाइरस देखिइसकेकाले यसप्रति नेपाल सचेत अवस्थामा बस्नुपर्ने उनको भनाइ छ ।

विश्वव्यापी संकटकाल घोषणासँगै डब्ल्युएचओले आर्थिक र प्राविधिक सहयोगसमेत प्रदान गर्ने गरेको छ । यसअघि, ६ पटकसम्म विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । ईमेजखबरबाट