हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय विरुद्ध एयरलाइन्स अपरेटरहरुले आन्दोलन गर्ने

काठमाडौं,भदौ,१६-आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले विरोध जनाएका छन् ।

सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले असन्तुष्टि जनाएका हुन् ।मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै पूर्वनिर्धारित तालिकाअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी गरेको संघका महासचिव मनोज कार्कीले जानकारी दिनुभयो ।

आन्तरिक उडान बन्द गर्ने निर्णय नलम्ब्याउन आफूहरुले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको बैठकले भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय गरेको थियो ।

सो निर्णयसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमान कम्पनीहरुको नाममा सेफ्टी सर्कुलेसन र सेफ्टी एड्भाइजरी जारी गर्दै भदौ १ गतेदेखि उडानका लागि तयारी गर्न भनेको थियो ।

प्राधिकरणको निर्देशनअनुसार विमान कम्पनीहरुले टिकट बुकिङ समेत गरिसकेका थिए ।