स्कटल्याण्डमाथि नेपालको एैतिहासिक पहिलो जित

स्कटल्याण्डमाथि नेपालको पहिलो जितकाठमाडौं,आषाढ,३०-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले एैतिहासक पहिलो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो ।

यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।

स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे ।

स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए ।

त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै  १ सय ४४ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।

मार्क वाटले १७ तथा सफ्यान शारिफले १६ रन जोडे ।

कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस जितसँगै नेपालले १८ खेलमा १७ अंक जोडेको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।