कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो

काठमाडौं,आषाढ,२६-नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो ।

पदाधिकारी बैठकले टुंगो लगाएको भ्रातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारी छ ।

केन्द्रीय समितिबाट विधान मस्यौदाको प्रस्ताव निर्णय हुने र सोही अनुसार भ्रातृ तथा शुभेच्छुक संस्था थपघट हुने बताइएको छ।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले करिब एक दर्जन संख्यामा भातृ\शुभेच्छुक संस्था थप्ने प्रस्ताव गर्ने निर्णय पदाधिकारी बैठकले गरेको जानकारी दिनुभयो।विभिन्न क्लस्टर, जात र भूगोल विशेषबाट आबद्धता खोजिएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

कांग्रेसमा हाल १३ वटा भातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।