प्रधानमन्त्री ओली छ दिने भ्रमणमा चीन प्रस्थान

काठमाण्डौं,असार,५-

प्रधानमन्त्री केपी शर्मा ओली एक सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी छ दिने चीन भ्रमणमा निस्किनु भएको छ ।

आज मंगलबार प्रधानमन्त्री ओलीको टोली नेपाल–चीन साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी बिहान ९ बजे काठमाडौंबाट उडेर चिनियाँ समय अनुसार साँझ सवा ५ बजे चीनको राजधानी बेइजिङ उत्रिनुहुनेछ ।

चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नु भएकोहो ।

चीन भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य, केरुङ–काठमाडौं रेलमार्ग निर्माण लगायत महत्वपूर्ण सम्झौता हुने बताइएको छ। नेपाल र चीनबीच केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ।

त्यस्तै भ्रमणमा नेपाल–चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

चीन भ्रमणका बेला उर्जा, रेलमार्ग, विजुलीको प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने प्रधानमन्त्री ओलीले हिजो संसदलाई जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ समयअनुसार बुधबार अपराह्न ४ बजे चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको भ्रमण दलका पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापामगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली, परराष्ट्रविद् डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजदूत लीलामणि पौड्याल, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणासहितका उद्योगी व्यवसायी, पत्रकार लगायत सहभागी छन्।

आगामी आइतबार बिहान ११ बजे सिचुआन एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम छ। साभार नेपाल खबरबाट।।