सञ्चारमाध्यमले अपमान गर्यो – प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१९-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै रोष प्रकट गर्नुभयो ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै चित्त दुखाउनु भएको हो।आफूहरुलाई फलानो गूटको भनेर टाउका जोडेर सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

बैठकमा उहाँले आफूहरु कुनै गूटका नभई नेकपा गूटको मात्र भएको पनि प्रष्टीकरण दिनुभयो। ‘सञ्चारमाध्यमले हामीलाई अंशवण्डा गरे’ उहाँको भनाइ थियो ।उहाँले  केन्द्रीय कमिटीबाट पारित भएको राजनीतिक र सांगठनिक प्रतिवेदन इमान्दारीपूर्वक कार्यान्वयन गरिने पनि बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारमा भ्रष्टाचार नबढेको दावी गर्दै ओलीले भ्रष्टाचार बढेको नभई भ्रष्टाचार गर्नेहरु समातिएको जिकिर पनि गर्नुभयो ।उहाँले सरकारका कामको प्रचार गर्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो ।