चीनबाट नेपाली विद्यार्थी स्वदेश फर्काउने तयारी- १५ दिन ‘क्वारेन्टइन’मा राखिने

काठमाडौं,माघ,१९-कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन वार्डमा राखेर उपचार गरिने र बाँकीलाई क्वारेन्टाइनमा राखिने छ ।

यसका लागि सम्भावित स्थलहरुको खोजी भैरहेको मन्त्रालयका प्रवक्ता डा.महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।चीनबाट नेपाली विद्यार्थी ल्याउन जोखिम र चुनौती दुवै रहेको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कता अपनाएर नै नेपाल ल्याउन  लागिएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले कोरोना भाइरस परीक्षणका लागि किटको अभाव हुन नदिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम भैरहेको बताउनुभयो  ।

आपतकालीन स्वास्थ्य परिचालन केन्द्रका प्रमुख सागर दाहालले वागमती प्रदेशका सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको र इलामको पशुपतिनगर र भक्तपुर अस्पतालमा समेत हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिनुभयो ।

१ सय ७७ विद्यार्थी दूतावासको सम्पर्कमा 

यता, परराष्ट्र मन्त्रालयले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन तयारी शुरु गरिसकेको जनाएको छ ।कोरोना भाइरसका संक्रमण फैलिएसँगै चीनबाट नेपाल आउन चाहेका विद्यार्थीहरुलाई सुरक्षा सतर्कता अपनाएर ल्याउन तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाल आउन चाहने विद्यार्थीको नामावली र विवरण संकलन भइरहेको र अहिलेसम्म १ सय ७७ विद्यार्थी बेइजिङस्थित दूतावासको सम्पर्कमा आएको बताउनुभयो ।

उहाँले नाम संकलन भइसके पछि नेपालबाट जहाज पठाएर विद्यार्थीहरुलाई नेपाल ल्याईने बताउनुभयो ।हुवेइ प्राप्तको विभिन्न स्थानमा रहेका विद्यार्थीलाई सुरक्षित रुपमा ल्याउन दुतावासले प्रक्रिया सुरु गरिसकेको भन्दै परराष्ट्रका प्रवक्ता पौड्यालले केही दिनमा नै उनीहरुलाई नेपाल ल्याउन सकिने बताउनुभयो ।ईमेजखबरबाट