संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी

काठमाडौं,साउन, १५-

सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।

यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले तोकेको समयसीमा भित्रै सम्पन्न गर्न एकै पटक दुवै निर्वाचन गर्नु उपयुक्त हुने भन्दै आफूले अन्य दलहरुसँग छलफल थालेको बताए ।

‘एकैपटक गर्दा निर्वाचनमा खर्च कम लाग्छ र प्रतिनिधिसभाको चुनाव गरेपछि प्रदेशको चुनाव हुँदैन कि भन्ने आशंका पनि रहदैन,’ शनिबार राजधानीमा सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले भने । उनले यो प्रस्तावमा मुख्य दलहरुसँग कुराकानी अघि बढाएको पनि बताए ।

प्रधानमन्त्री देउवाले केही दिनअघि गृह, अर्थ र परराष्ट्रमन्त्रीको उपस्थितिमा निर्वाचन आयोगका पदाधिकारीसँग एकै चरणमा चुनाव गराउने विषयमा छलफल गरेका थिए । त्यस छलफलमा सहभागी सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चाप र खर्चका हिसाबले पनि एकै चरणमा चुनाव गराउन उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको बताए ।

सरकारले सम्भव भएसम्म विद्युतीय मेसिनबाट मतदान गराउनेबारे पनि छलफल गरिरहेको कार्कीले जानकारी दिए । ‘कति सम्भव हुन्छ, कति हुन्न त्यो छलफलमै छ, तर विद्युतीय मेसिनबाट हुन सके अझ छिटोछरितो, स्वतन्त्र र निष्पक्ष ढंगबाट चुनाव गराउन सकिन्छ भन्ने सरकारको निचोड छ’, उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ७ भित्र संघीय प्रदेश र संसदको चुनाव सम्पन्न गरिसक्नुपर्छ ।माघ ७ भनिए पनि चुनाव गराउन अनुकूल मौसम मंसिरसम्म मात्रै हुन्छ । मंसिरपछि चिसो बढ्ने भएकाले हिमाली क्षेत्रमा चुनाव गराउन सम्भव देखिन्न ।

अबको चार महिनाभित्र दुवै तहको चुनाव अलग-अलग मितिमा गर्न कठिनाइ पर्ने भएकाले पनि प्रमुख प्रतिपक्षी एमालेसमेत एकै पटक चुनाव गराउनुपर्ने पक्षमा देखिएको हो । आजको कान्तिपुरमा खबर छ ।