एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ताकाठमाडौं,असार,२९-एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दैछ।खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ।नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन्।

पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ। नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन्।त्यसैले आज टोलीमा युवा खेलाडीले मौका पाउने देखिन्छ।दीपेन्द्र नहुँदा नेपालले पवन सरार्फलाई मौका दिनसक्छ।सन्दीप नहुँदा मौसम ढकाल वा सूर्य तामाङ मध्य एकले मौका पाउने छन्।

आरिफको स्थानमा सन्दीप जोरा खेल्ने सम्भावना छ।करण केसीको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना देखिन्छ।नेपाल विना दबाब खेल्नु पर्ने हुन्छ।पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन।यी दुई बाउन्स र गतीका लागि चिनिन्छन्।

अघिल्लो साता सर्ट बलमा नेपाली ब्याटरले संघर्ष गरेका थिए । त्यो कमजोरी यस प्रतियोगितामा सुधार गर्नुपर्ने हुन्छ।पाकिस्तानी बलर सर्ट बलका लागि माहिर छन्।

नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिनसक्छ।अर्जुन साउदलाई नेपालले तल्लोक्रममा खेलाउन सक्छ। यदि अर्जुनलाई ओपनरमा खेलाएमा आसिफ बेन्चमा बस्नेछन्।भीम सार्की, रोहित पौडेल र कुशल मल्लले तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन्।

कप्तान रोहित र कुशलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।उता तीव्र गतिका बलरमा सोमपाल कामी र किशोर महतो हुनेछन्।नेपालले तेस्रो तीव्र गतिका बलरमा गुलशन झालाई खेलाउने छ।गुलशन नेपालको फिनिसर ब्याटरको रुपमा खेल्नेछन्।स्पिन आक्रमण सन्दीप नहुँदा ललितले सम्हाल्ने छन्।

नेपालसँग खेल्ने पाकिस्तान ए को टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन्।