आज नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण खेल हुने

काठमाडौं,असार,३१-नेपालले आज बंगलादेश संग दोस्रो मैत्रीपुर्ण फुटबल खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ।

गत हप्ता बिहीवार भएको मैत्रीपूर्ण पहिलो खेल नेपाली महिला टिमले १-१ को बराबरीमा खेलेको थियो।

बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले बताउनुभयो।

उहाँले बंगलादेश हालको साफ च्याम्पियन टोली रहेको उल्लेख गर्दै भन्नुभयो,‘मैले भन्दै आएको छु पछिल्लो केहि वर्षमा बंगलादेशले महिला फुटबलमा राम्रो गरिरहेको छ।त्यसै कारण साफ च्याम्पिनसिपको च्याम्पियन टोली हो।टोलीको हामी सम्मान गर्छौ। जहाँ सम्म खेलको कुरा छ हामी जित्नका लागि हरसम्भव प्रयास गर्नेछौं।’

सावित्रा भण्डारी सम्बाले इन्जुरी समयमा गोल गर्दै पहिलो खेलमा नेपाललाई हारबाट जोगाएकी थिइन्।बंगलादेशकी कप्तान सविना खातुनले पहिलो हाफमा गोल गर्दै नेपालमाथि दबाब दिएकी थिइन्। ४ मिनेट थप इन्जुरी समयमा सावित्राले गोल गर्दै टोलीको हार टारेकी थिइन्।

नेपाल र बंगलादेशबीच यसअघि १० पटक प्रतिस्पर्धा भएको छ।जसमा नेपाल ६ पटक जितेको थियो भने ३ खेल बराबरीमा टुंगिएको थियो।एक मात्र खेलमा बंगलादेश विजयी भएको थियो।नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन।