उम्मेदवार टुंगो लगाउन एमाले स्थायी कमिटिको बैठक बस्दै

माओवादी केन्द्रले पनी आज अन्तीम रुप दिने

काठमाडौं,कार्तिक,१४-

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाउने भएको हो ।

यसअघि हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रसँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको प्रचार विभाग सचिव रिजालले बताउनुभयो ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले आजै उम्मेदवार टुंगो लगाउने एमालेले जनाएको छ ।

यसैविच यता , माओवादी केन्द्रले पनी उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । माओवादीले पनि आजै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ ।

तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले बताएका छन् ।