आज हरितालिका तीज पर्व देशभर मनाइदै

मौलिक गीत हराउँदै,उत्ताउला गीत घन्किदै

काठमाण्डौ,भदौ,१६-

फोटो साभार : सामाजीक संजाल मार्फत

नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।

तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्ता समेत थपिएको छ ।

तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् ।

यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

यसैबिच : हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।

यस्तै : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

सारा संसार भरी छरिएर बस्नु भएका आमा दिदी बहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बिहानी अनलाईन परिवारको तर्फबाट हरितालीका तिजको शुभकामना व्यक्त गर्दछु । धन्यवाद !

बिहानी अनलाईन डटकमका सिईओ : दिपेन्द्र सारु मगर