एक लाख बाहिरिने अनुमान, उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए

काठमाडौं, २९ वैशाख –

स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए ।

उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।

 चुनावमा करिब एक लाख बाहिरिने अनुमान
ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।

शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । ‘१९ वैशाखमा उपत्यकामा ३७५८ सवारी आएका थिए भने ३६५२ गएका थिए ।

त्यस्तै, २१ गते ८९२६ सवारीसाधन आएका छन् भने ९२९९ गएका छन् । ‘बाहिर गएका धेरै सवारीसाधन अहिलेसम्म फर्केका छैनन्,’ उनले भने, ‘त्यसमा पनि निजी सवारीसाधन धेरै बाहिरिएका छन् ।’आजको नयाँ पत्रिकामा खबर छ ।