३२ जिल्लामा भोली निर्वाचन : मतदानका लागी सम्पुर्ण तयारी पुरा

७०२ उम्मेदवार चुनावी मैदानमा

 काठमाडौं,मंसिर,९-

निर्वाचन आयोगले पहिलो चरणमा भोली आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भइ मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीकारूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदानस्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नस्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।

सोक्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा वि.सं. २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालेमात्रै मतदान गर्न पाउने हुँदा सबै मतदातालाई मतदानमा सरिक भइ आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको हो ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोकारूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा छ ।

कुनैपनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्न र यदि कसैले त्यस्तो गैरकानुनीकार्य गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकार भएकालाई निर्वाचन आचारसंहिताको पूर्णपालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन अपिल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्नका लागि उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिनुभयो ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्नसक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ ।

यसैविच : मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मतपत्रमा रहेको चुनाव चिहृनमध्ये एउटामा छाप लगाउनुपर्नेछ ।

प्रदेशसभाका प्रत्यक्ष उम्मदेवारका लागि कालोमसीले छापिएका निर्वाचन चिहृनमध्ये कुनै एकमा स्वस्तिक छाप लगाएर तोकिएको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

समानुपातिकतर्फ एउटै मतपत्र छ । तर, त्यहाँ केन्द्र र प्रदेशका लागि दुई ठाउँमा छाप लगाउनुपर्ने छ । रातो रंगको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेश सभाका लागि स्वस्तिक चिन्ह लगाउनुपर्नेछ । रासस