पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज

सुरक्षा व्यवस्था मजबुद : निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह

काठमाडौँ,मंसिर,१०-

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज देशका ३२ जिल्लामा गर्दैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुन लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

आज निर्वाचन हुने ३२ जिल्लाहरु मध्य प्रदेश नं १ मा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,त्यसैगरी प्रदेश नं ३ मा नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, यस्तै , प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,यसैगरी प्रदेश नं ५ मा  रूकुम (पूर्वी भाग) र रोल्पा, यसैगरी , प्रदेश नं ६ मा रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,त्यस्तै , प्रदेश नं. ७ मा दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्ला रहेका छन् ।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ भने आज सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ । मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।

सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउनु हुनेहुँदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको छ । संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा छ ।

आयोगले कुनै पनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानूनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारभएकालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिनुभयो ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्नसक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाईसकेको छ ।

यसैविच : मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मतपत्रमा रहेको चुनाव चिहृनमध्ये एउटामा छाप लगाउनुपर्नेछ ।

प्रदेशसभाका प्रत्यक्ष उम्मदेवारका लागि कालोमसीले छापिएका निर्वाचन चिहृनमध्ये कुनै एकमा स्वस्तिक छाप लगाएर तोकिएको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

समानुपातिकतर्फ एउटै मतपत्र छ । तर, त्यहाँ केन्द्र र प्रदेशका लागि दुई ठाउँमा छाप लगाउनुपर्ने छ । रातो रंगको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेश सभाका लागि स्वस्तिक चिन्ह लगाउनुपर्नेछ । 

त्यसैगरी :  गृह मन्त्रालयले आज हुने पहिलो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद् रहेको जनाएको छ । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा व्यवस्था मजबुद् रहेकाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले जुनसुकै मतदानस्थलमा १० देखि १५ मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । निर्वाचनका लागि ६४ हजार नेपाली सैनिक र ६८ हजार ८०० प्रहरी र ४२ हजार ८०० सशस्त्र प्रहरी खटिएको जनाइएको छ । त्यस्तै, ९८ हजार १७६ म्यादी प्रहरी पनि निर्वाचन सुरक्षामा खटिएका छन् ।