सिद्धिचरण नगरपालिकाले प्रबाह गर्ने सेवा र पुननिर्माण सम्बन्धी सार्बजनिक सुनुवाई सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुगा,माघ,१७-

सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहकार्यमा सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

सार्वजनिक सुनुवाइमा उठेका विभिन्न सवालहरुको सम्बोधन पछि नगरपालिकाले विभिन्न १२ बुदे प्रतिबद्धता जनाएको हो । नगरपालिकाले विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षका विकासका योजनाहरु फागुन समान्तभित्र सम्पन्न गर्ने, सबै वडा कार्यलयहरुमा इन्टरनेट सेवा जडान गर्ने, पेश्की र बेरुजु शून्य बनाउने, एकिकृत सम्पति कर व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, फोटोसहितको सामाजिक सुरक्षा भत्ताको अभिलेख राख्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरीयता कायम गर्ने, रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्प पीडितहरुले अनुदान प्राप्त गर्न भएका कठिनाइ समाधान गरि अनुदान सहजताका साथ उपलब्ध गराउने, निर्माण सम्पन्न भइ अनुदान नपाएका घरहरुको सुधार गरि अनुदान उपलब्ध गराउन पहल गर्ने र इलेक्टो«निक वडा पत्र राख्ने प्रतिबद्धता जनाएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरुको सवाल सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै सिद्धिचरण नगरपालिकालाई समृद्ध र विकसित बनाउने काममा आफु प्रतिबद्ध भएको लाग्ने बताउनुभयो ।

यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जवाफदेहि वक्ताको रुपमा बोल्दै संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले सुशासन युक्त र भ्रष्टाचार मुक्त जिल्ला बनाउन आफ्नो पहिलो प्रतिबद्धता भएको बताउनुभएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भ्रष्टाचार विरुद्ध प्रशासनले सून्य सहनशीलता अपनाउने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले विकास निर्माण र सेवा प्रवाहका विषयमा प्रश्न राखेका छन् । सिद्धिचरण नगरपालिकाका विषयगत कार्यालय, स्वास्थ्य, शिक्षा र पुनः निर्माण प्रधिकरण जिल्ला समन्वय समितिको सचिवालयका अधिकारीहरुले सहभागीको प्रश्नको जवनफ दिएका थिए । कार्यक्रमको सहजीकरण सिद्धिचरण नगरपालिकाका उमेश कार्की र इन्सेक प्रतिनिधी शिव ढुंगानाले सहजीकरण गर्नुभएको थियो ।