कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की
/महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको हो । प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलको संयोजकत्वमा १५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ । कञ्चनपुर जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा का सदस्यहरु,राजनैतिक दलका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी ,संघका पुर्व अध्यक्षहरु एवं सुरक्षा निकायका प्रमुखहरु रहेको सल्लाहकार समिति गठन गरिएको जानकारी आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघले दिएको छ ।

    महोत्सवको कामलाई छिटो छरितो रुपमा कार्य सम्पादन गर्न १४ वटा समितिहरु गठन गरिएका छन् । जसमा स्वागत संयोजक गणेशदत्त जोशी,सुरक्षा संयोजक जंग वहादुर मल्ल, भौतिक निमार्ण संयोजक तेज सिंह कार्की, स्टल बुकिङ्ग माधव प्रसाद जोशी, सचिवालय तथा प्रचार प्रसार संयोजक दिपेन्द्र प्रकाश साउद,सांस्कृतिक संयोजक मदनराज पन्त, आर्थिक संयोजक खगेश्वर प्रसाद वोहरा यसै गरि टिकट व्यवस्थापिन संयोजक गजेन्द्र बहादुर चन्द , पर्यटन प्रर्वद्धन संयोजक गणेश चटौत, कृषि उद्यम विकास संयोजक सिद्धराज भट्ट, मञ्च व्यवस्थापन संयोजक करन पाल, महिला उद्यम विकास संयोजक निर्मला भट्ट् सापकोटा, प्रयोजन तथा व्यानर समितिमा राहुल भट्ट, वाल उद्यान तथा र्पाकिङ्ग व्यवस्थापनमा धर्म सिंह रावललाई जिम्मेवारी प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

     प्रत्येक वर्ष शिवरात्रीको अवसर पारी आयोजना हुने महोत्सवको यो ११ औँ संस्करण हो । यस वर्षको महोत्सवले राष्ट्रिय स्तरका उत्पादनहरुको प्रर्वद्धन, निकासी जन्य वस्तुको पहिचान गर्ने, स्वदेशी उत्पादनको उपभागका लागि प्रचार प्रसार , सुदुर पश्चिमाञ्चल क्षेत्रको पर्यटन प्रर्वद्धनको जन चेतना एवं कञ्चनपुरका पर्यटकिय गन्तव्य स्थलको पहिचान गराउनका साथै स्थानिय कला संस्कृति एवं खाद्य परिकारको समेत व्यापक जनजागरण ल्याउने उद्देश्य रहेको छ । १५० स्टल रहने मेलामा स्थानिय ,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन र सेवाहरु, दैनिक उपभोग्य वस्तुहरुको प्रर्दशनी तथा खरिद विक्री ,कृषिजन्य वस्तु,तरकारी फलफुलको प्रर्दशनी तथा खरिद विक्री,पर्यटकिय क्षेत्रहरुको विस्तृत जानकारी ,विविध सांस्कृतिक कार्यक्रम देउडा,थारु नाच, लोक दोहोरी नृत्य प्रर्दशन , स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, थारु तथा राना समुदायको रहन सहन तथा साँस्कृतिक झाँकी प्रर्दशन , बाल उद्यान लगायत विभिन्न कार्यक्रमहरु र डोटेली ,थारु र राना समुदायका खानाका परिकारहरु मुख्य आर्कषणको रुपमा रहने छन् । मेला अवलोकनकर्ताका लागि रु.५० तथा विधार्थीका लागि रु.२५ दरका टिकट निर्धारण गरिएको छ ।

        महोत्सवमा प्रदेश नं.७ का सवै जिल्लाको प्रतिनिधित्व हुने छ भने मेला अवलोकनका लागि नेपाल तथा छिमेकी मुलुक भारतका गरि करिव २ लाख अवलोकनकर्ता पुग्ने र करिव ५ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।