ओखलढुंगामा मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण

सिर्जना बर्देवा/
ओखलढुंगा कार्तिक,२४-
मतदाता शिक्षाका लागि गाउँगाउँ खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले आज प्रशिक्षण दिएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १ सय ४१ जना स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो ।

उनीहरुलाई निर्वाचन आचारसंहिता, मतदानस्थल र मतदान केन्द्रका बारेमा जानकारी र मतदान गर्ने तरिका सिकाएर प्रत्येक मतदाताको घरमै पुगेर शिक्षा दिन लगाइने जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । स्वयंसेवकहरु भोलि शनिबारदेखि नै कार्यस्थलमा खटिने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरकफरक व्यवस्था गरेको छ भने समानुपातिक तर्फ एउटा मात्र मतपत्र बनाएको छ । यसका कारण मतदाता झुक्किने सम्भावना अधिक रहेकाले स्वयंसेवकहरुलाई निकै सावधानीपूर्वक शिक्षा दिन निर्देशन दिइएको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा खसेको कुल मतमध्ये ३ दशमलब ६१ प्रतिशत मत बदर भएको थियो । आसन्न निर्वाचनमा बदर मत खस्ने सम्भावना बढी भएतापनि आज प्रशिक्षण लिएका स्वयंसेवकहरुले त्यसलाई कम गराउन निकै महत्वपूर्ण भूमिका खेल्ने जिल्ला निर्वाचन अधिकारी राईले विश्वास व्यक्त गर्नुभयो ।

स्वयंसेवकहरुले निर्वाचनको समयमा आचारसंहिता निरीक्षण गर्ने स्थानीय प्रतिनिधिका रुपमा समेत काम गर्नेछन् ।आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका एक लाख २ हजार २ सय ६३ मतदाता सहभागी हुँदैछन् । जिल्लामा १ सय ४१ वटा मतदान केन्द्र रहेका छन् । 

यसैबीच, निर्वाचनका लागि आवश्यक सामग्री ओखलढुंगा आइपुगेको छ । मतपेटिका, मतपत्र, मतदाता शिक्षा सामग्री, निर्वाचन प्रचार सामगी, स्ट्यामप्याड, मसी, छेकाबारालगायतका निर्वाचन सामग्री गएराति आइपुगेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।