राष्ट्रिय सहमति र संशोधन नगरी एमसीसी पास हुँदैन : माओवादी केन्द्र

काठमाण्डौं,कार्तिक,२३-सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति नजुटेसम्म अमेरिकी परियोजना एमसीसी पास गर्न नहुने अडान लिएको छ।

पेरिस डाँडामा मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता कृष्णबहादुर महराले दिनुभयो ।

एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पत्र पठाएको कुरा आएका बेला माओवादीले यस्तो निर्णय गरेको हो । 

बैठकमा एमसीसीबारेमा छलफल भएको बताउँदै महराले राष्ट्रिय सहमति भइ यो संसदबाट पास हुन नसक्ने निचोड निकालिएको उल्लेख गर्नुभयो।

त्यसैगरी विवादित बुँदाहरु संशोधन र परिमार्जन नभइ एमसीसी अगाडि नबढाउने कुरा बैठकमा भएको पनि उहाँले बताउनुभयो। ‘एमसीसीबारे बाहिर जुन कन्फ्युजन भएको छ।

हाम्रो पार्टी राष्ट्रिय सहमति नभइकन, संशोधन, परिमार्जन नभइ अगाडि नबढाउने पक्षमा छ’, महराले भन्नुभयो, ‘एमसीसीका कतिपय कुराहरु आपत्तिजनक छन्। केही कुरा परिमार्जन नभइ र सबै दलको राष्ट्रिय सहमतबिना यो अगाडि बढ्दैन महराले प्रष्ट पार्नुभयो ।