आज देखि बाह्रौँ राष्ट्रिय जनगणना हुदै,लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गरिने

देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन

काठमाण्डौ,कार्तिक,२५-आज (बिहीबार)देखी बाह्रौँ राष्ट्रिय जनगणना हुदै छ। प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागी सबै तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

बुधवार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणनाको अवधि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म १५ दिनको हुने उहाँले बताउनुभयो ।

जनगणना सञ्चालन गर्नका लागि देशभरमा सात प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र तीन सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौंमा भने पाँच वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसङ्ख्या भएका जिल्लाहरू- मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा भने दुई/दुई वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन हुने उहाँले बताउनुभयो ।तथ्याङ्क विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी त्यो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी भौतिक रूपमै उपस्थित भएर त्यहाँ जनगणना गर्छौं।कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जानकारी हामीले अन्य स्रोतहरूबाट र त्यहाँसँग सम्बन्धित अन्य व्यक्तिहरूबाट या नजिक हाम्रो पहुँच भएको ठाउँबाट लिँदा सात सयदेखि आठ सयसम्मको हाराहारीमा जनसङ्ख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ ।

अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइट प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग गन्न गर्न सक्छौँ । एउटा घरमा औसत परिवार कति बस्दो रहेछ भन्ने विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमान  हामी निकाल्न सक्छौँ । त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’