टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश

अष्ट्रेलियाले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्ने

एजेन्सी,कार्तिक,२५-पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए । अर्का ओपनर तथा कप्तान आरोन फिन्च शुन्य रनमा पेविलियन फर्किएका थिए । मिचेल मार्सले २८ रन बनाए । स्टेभन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाए ।

पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।यसअघि, दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाए ।जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । सोएब मलिक एक, आशिफ अली शुन्य रनमा पोविलियन फर्कदा मोहमद हाजिफ १ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए ।प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।खेलपाटीबाट