पार्टी आधिकारिकता दावी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा

अरु दुई दल पनि पुगे आयोग कार्यालय

काठमाडौं,असार,४-जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।

आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत हुनुहुन्छ ।

यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।

आजै माओवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहले पनि आयोगका पदाधिकारीहरुलाई भेट गर्नुभएको छ । उहाँहरुले प्रतिनिधि सभा विघटन गरी घोषणा गरिएको निर्वाचनको तयारीका बारेमा जानकारी लिनुभएको थियो ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोगको कार्यालय पुग्नुभएको थियो । उहाँहरु भने स्थानीय तहमा पार्टी परित्याग गरि अर्को दलमा लागेकाहरुलाई गरिएको कार्वाही अद्यावधिक नगरिएको बारे बुझ्न आयागको कार्यालय जानुभएको हो ।