मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख-

 प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सहितका स्थानीय तह बनाउन सकिएको बताउँदै उहाँले भन्नुभयो ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’

चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने बताउनु भएको छ । चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने बताउनुभएको हो । ‘देशमा ठूला राजनैतिक परिवर्तन भएपनि जनताको जीवन परिवर्तन नहुँदा जनतामा निराशा बढेकाले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’ उहाँले भन्नुभयो ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुने छ ।’

प्रधानमन्त्री दाहालले अव स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार पनि रोकिने बताउनुभयो । ‘अव केन्द्रले होइन स्थानीय तहले आफै विकासका काम गर्छ’ उहाँले भन्नुभयो ‘माथिबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रबृत्ति अव हुँदैन ।’

उहाँले यो सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पुर्याउने लगायतका महत्वपूर्ण काम गरेको बताउनुभयो । ‘अव आर्थिक बृद्धिदर ७.५ पुग्छ’ – उहाँले भन्नुभयो । साभार नेपलावानी बाट