लोकतन्त्र मर्यादित र अनुशासित प्रणाली हो : प्रधानमन्त्री ओली

फाईल तस्विर !!

काठमाडौं,असोज,३-प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताउनु भएको छ ।

शनिवार सैनिकमञ्च, टुँडिखेलबाट संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले लोकतन्त्र निरङकुशतन्त्रको विकल्प हो भन्दै लोकतन्त्र विधिको शासन  भएकाले मर्यादित र अनुशासित प्रणाली भएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पनि पर्छ भन्दै तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन भन्नुभयो । उहाँले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताउनुभयो।

अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको  बताउँदै उहाँले भन्नुभयो, ‘मैले पटकपटक भन्दै आएको छु–भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ उहाँले भ्रष्टाचार बिरुद्धको सरकारको अभियानमा नियामक निकायहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

संविधानसभाद्वारा संविधान जारी भएसँगै एकतन्त्री शासन समाप्त भएको बताउँदै  उहाँले भन्नुभयो, ‘आफैंले, आफ्ना लागि बनाएको यो राज्य प्रणालीमा खाल्डा र खुल्डी भए सम्याउन सकिन्छ ।

तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरंकुश प्रणालीलाई झैं यसका विरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।