नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा

नेपालगञ्ज,फागुन,१९-

बेरोजगार यूवाहरुलाई लक्षित गर्दै नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा ल्याइएको छ । पूर्व भारतिय सैनिक पे्रम बहादुर शाहीले नेपालगञ्ज –१० स्थित आफनै निवासमा स्थापना गरेको सेन्टरको आज औपचारिक उदघाटन गरिएको छ ।

नेपाल, भारत र व्रिटीस आर्मी हुनका लागि पुर्व तयारी स्वरुप प्रशिक्षण दिइने सो सेन्टरको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले उदघाटन गर्नु भयो ।

सेन्टर सञ्चालक, प्रशिक्षक, स्थानीय अगुवा, प्रशिक्षार्थी सहभागी समारोहमा बोल्दै प्रमुख राणाले प्राविधिक ज्ञानले वेरागार यूवालाई सुरक्षा क्षेत्रमा प्रवेश गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । प्रदेश सभा सदस्य सुरेन्द्र हमालले यस्ता सेन्टरले यूवाहरुलाई सहीमार्गमा ल्याउने भन्दै निरन्तरतासँगै गुणस्तरियतामा ध्यान दिन आग्रह गर्नु भयो ।

करातेका ३ डन समेत रहेका सञ्चालक शाहीका अनुसार भारतिय आर्मीका लागि २९ जनाले तालिम लिइरहेकोमा २८ जनाले नाम निकाल्न सफल भएका छन् । सेन्टरका अनुसार प्रशिक्षार्थीलाई सुशिल वर्मा र गोकर्ण शाहीले शारिरिक, प्राविधिक र सैद्धान्तिक ज्ञान बारे जानकारी दिनु हुनेछ ।