क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

काठमाण्डौं,पुष,१६-क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ।

विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए।रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा बढी रहनेछ ।

३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन्।नौ पटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ।रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलालले समेत अनुबन्धको प्रयास गरेको थियो ।

नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा  उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए।

युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुन: फर्किएका थिए।युनाइटेडसँगको सम्झौतामा उनको सात महिना मात्र बाँकी थियो तर ’आपसी सहमतिमा’ उनले क्लब छाडेका थिए।