जापानका प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

लगातार बिरामी भएपछि राजीनामा दिन सक्ने संकेत

जापान,भदौ,१२-जापानका प्रधानमन्त्री सिन्जो आबेले आज (शुक्रबार)साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ।उक्त सम्बोधनबाट उहाॅंले राजीनामा दिन लाग्नु भएको बताइएको छ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबे लगातार बिरामी भएपछि पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिनुहुने बुझिएको छ।

‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उहाॅं निकट स्रोतले भनेको छ।

पछिल्लो समय प्रधानमन्त्री आबे लगातार दुई पटक अस्पताल गएपछि उहाॅंको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी  गरिएको थियो ।

यसअघि पनि प्रधानमन्त्री आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिनु भएको थियो। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित हुनुहुन्छ।

प्रधानमन्त्री आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो। पछिल्लो समय उहाॅं सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उहाॅंको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो।

( श्रोत : जापान सरकारी टेलिभिजन एनएचके)

https://www3.nhk.or.jp/nhkworld/en/news/20200828_28/