चौतारीमा बसेर काँग्रेसको आलोचना नगर्न विश्वप्रकाशको आग्रह

झापा,मंसिर,२६-

 नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताउनु भएको छ । शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार हुनुहुन्थ्यो । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित हुनुभएको थियो ।

आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिनुभयो । अरु क्षेत्रमा कांग्रेस उम्मेदवार भारी मतान्तरले हार्दा आफूहरु २८ सय मतले पछि परेको भन्दै उहाँले भन्नुभयो ” मन त जितियो तर, मत जित्न सकिँन । तर, मैले गुनासो गर्न ठाउँ छैन ।’

उहाँले आगामी दिनमा मन र मत दिने गरी काम गर्ने बाचा गर्नुभयो ।चुनाव हारेपछि धेरैले कांग्रेस घाटमा पुगेको टिप्पणी गरेको भन्दै शर्माले असन्तुष्टि जनाउनुभयो । फुटबल हारेको टिमले जस्तो हारको दोष एकले अर्कालाई लगाउन नहुने भन्दै उहाँले भन्नुभयो, ‘कांग्रेस घाटमा होइन, अस्पतालमा छ । सही डाइगोनोसिस भयो भने ठीक हुन्छ ।’

नेतृत्वको आलोचना वा रक्षा मात्र गरेर कांग्रेस बन्न नसक्ने भन्दै उहाँले तीन बाटो देखाउनुभयो । आफैंबाट बदलिने, सही डाइगोनोसिस र नविन सोच चाहिने उहाँले बतउनुभयो । नेता शर्माले चुनावमा घात अन्तरघात भएको सुनेको भन्दै यति कसैले गरेको भए आफैं विदा दिन आग्रह गर्नुभयो ।

साथै अब हरेक बैठक सही समयमा हुने भन्दै उहाँले असन्तुष्टि भए कार्यालयमा आएर राख्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । तर, चौतारीमा बसेर आलोचना नगर्न आग्रह गर्दै नेता विश्वप्रकाशले भने, ‘कांग्रेस कुनै माछा बजार नभएको बताउनुभयो ।