कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस

तनहुँ, मंसिर,२६-

नेपाली कांग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो । जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताउनुभयो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर–१ बाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

समानुपातिकतर्फ कांग्रेस अगाडि

त्यसैगरी, तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना कार्य तीव्र पारिएको छ ।

तनहुँमा मंगलबार अपराह्नसम्म ५८ हजार ८३१ मत गणना हुँदा कांग्रेसले २५ हजार १९४, नेकपा एमालेले २४ हजार ५२० र माओवादी केन्द्रले ३ हजार २९ मत प्राप्त गरेको बताइएको छ । रासस