नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय छ : डब्लूएचओ

काठमाडौं,चैत,११-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ ।

डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।

डब्लूएचओले केही सुधारको सिफारिससहित डा. जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ ।

प्रतिवेदनकाअनुसार प्रयोगशालाले कोरोनाको परीक्षणमा सबै प्रक्रिया पूरा भएको उल्लेख गरेको छ ।

साथै, ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ ।

परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि जनाएको छ ।