एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, माघ ११-

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उहाँले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सीमा जस्तो संवेदनशील विषयमा सरकार मौन रहेको भन्दै नेपाली भूमि माथिको अतिक्रमण बन्द नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री देउवाले सीमा समस्याको दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएको अध्यक्ष तामाङले बताउनुभयो । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा गरेको छपकैया सीमा अतिक्रमणको स्थलगत अध्ययन प्रतिवेदन पनि प्रधानमन्त्रीलाई बुझाएको छ । ईमेजखबरबाट