राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

काठमाडौं, माघ ११-

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयनदर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८/८ वटै सिटमा चुनाव हुनेछ ।

राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रियसभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईंको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश ३ र ४ मा सबै ८÷८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध भएका छन् ।

एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३÷३ सदस्य निर्विरोध भएका छन् । दलित र अपांग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ ।

खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ । ईमेजखबरबाट