नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

काठमाडौं,जेठ,२४-

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज कार्यभार सम्हाल्नु भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित बिशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयमा पदभार सम्हाल्नु भएको हो ।

पदभार सम्हाले लगत्तै देउवाले अन्तर प्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा गठन गर्ने र सदाचार नीतिको मस्यौदा तयारी गरी पेस गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले तीन जना उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको छ ।प्रारम्भिक मन्त्रीमण्डलमा कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन तथा नेपाल लोकतान्त्रिक फोरमबाट एक जना सहभागी हुनु भएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उपप्रधान सहित परराष्ट्र र कांग्रेस नेता गोपालमान श्रेष्ठलाई उपप्रधान सहित शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ र फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रभु साहले भने विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ ।नेपालवाणीवाट